आठ विधामा स्पोर्टस अवार्ड प्रदान गरिने

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही जेठ २४ गते पोखरामा हुने प्रदेशस्तरकोे ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ मा आठ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

मञ्चले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी स्पोर्टस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र लाइफ टाइम अचिभमेन्टसहित आठ विधामा अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताउनुभयो । मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्ने भएको छ ।

गुरुङले चीनमा भएको ११औँ एशियाली खेलकूद प्रतियोगितामा काश्य, तेस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकूदमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदी जडित अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

अवार्ड वितरणका लागि मञ्चले वर्ष खेलाडी पुरुष, महिला, वर्ष उदीयमान खेलाडी तथा वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधामा तीन÷तीन जनाको नाम यसअघि नै मनोनयन गरी सार्वजनिक गरिसकेको छ ।

सो अनुसार सर्वोत्कृष्ट खेलाडी पुरुषमा प्याराग्लाइडिङका युकेश गुरुङ, रुपक नेपाली (फुल कन्ट्याक्ट कराते) र स्क्वासका अमृत थापा मनोनयनमा हुनुहुन्छ ।

सर्वोत्कृष्ट खेलाडी महिलामा फुल कन्ट्याक्ट करातेका सुमी श्रेष्ठ, प्रीति बराल सफ्ट टेनिस र सुटिङका श्रेया केसी हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, आइटिएफ तेक्वान्दोका सुस्मिता थापामगर र आर्चरीका अनुस्का शेरचन हुनुहुन्छ । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा फुल कन्ट्याक्ट करातेका दीपक गोदार, ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा पर्नुभएको छ ।

खेलाडीको गत वर्षको प्रदर्शन र प्राप्त अचिभमेन्टलाई आधार मानेर मनोनयन गरिएको बताइन्छ । निर्णायक कमिटी र भोटिङका आधारमा अवार्डका लागि खेलाडी छनोट गरी अवार्ड प्रदान गर्ने हेतुले आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था गरिएको मञ्चका उपाध्यक्ष रञ्जन अधिकारीले बताउनुभयो । सर्र्वोत्कृष्ट पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्वोत्कृट महिला विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस बिगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्चले जनाएको छ ।

वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ । मञ्चले उत्कृष्ट खेल सङ्घलाई नगद १५ हजारसहित ट्रफी तथा उत्कृष्ट खेल पत्रकारिता पुरस्कार रु २० हजार दोसल्ला तथा ताम्रपत्रबाट एक जना खेल पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । अवार्ड कार्यक्रम सफलताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख, पोखरा महानगरपालिकाले रु एक लाख ५० हजार तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरेको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!