यस्तो हाेस् खुशी जीवनशैली

माया, प्रेम, परिवार, साथीभाइ, ईष्टमित्र मेरा खुसीका स्रोत हुन् । जीवनलाई सार्थक बनाउने भनेको कर्म रहेछ । एउटा शिक्षकले महिनाको अन्तिममा तलब लिन्छ त्यो ठूलो कुरा होइन र त्यो खुसीको स्रोत पनि होइन । उसले असक्षम बालबालिकालाई कसरी सक्षम बनाउँछ त्यो ठूलो उपलब्धि हो, खुसीको स्रोत हो ।

सकारात्मक सोच, कामप्रतिको जिम्मेवारी अनि सबैभन्दा ठूलो कुरा परिवारलाई गुणस्तरीय समय छुट्याउन सकियो भने दुःखी हुनुपर्दैन ।

स–साना कुराबाट विचलित नहुने, गल्ती र कहिलेकाहीँको असफलतामा नआत्तिई त्यसलाई पाठका रूपमा लिएर अघि बढ्दै जाने हो भने खुसी मिल्छ ।

जीवन भनेको सुख–दुःखको संगम हो । जीवनमा सजिला–अप्ठ्यारा त आइहाल्छन् । यस्तो बेला पनि आफूलाई शान्त राख्दै चुनौती सामना गर्दै अघि बढ्ने हो भने खुसी पहिल्याउन सकिन्छ । लोभ, मोह, ईर्ष्या, मपाईं र म मात्र खुसी रहुँ भन्ने नकारात्मक सोच र व्यवहारले जीवन कहिल्यै खुसी र सार्थक हुँदैन । यी चीजले त जीवनमा अझ बढी दुःख निम्त्याउँछन् ।

जीवनमा कतिपय कुरा आफूले सोचे र चाहेजस्तो ठ्याक्कै नहुन पनि सक्छ । वास्तवमा दुःखी र अशान्त हुनुपर्ने कारण त्यहीँबाट उत्पन्न हुन्छ ।

अनुकूल समय र परिस्थितिमा यसै पनि खुसी भइन्छ । प्रतिकूल र विकट परिस्थितिमा पनि आफूले आफैलाई सम्हाल्ने, सम्झाउने र धैर्य धारण गर्न सक्ने क्षमता र सीप भए जीवनलाई खुसी र सार्थक बनाउन सकिन्छ ।

सुखी व्यक्ति विशेषको रुचि, स्वभाव र भावनासँग निकट र निर्भर हुने भएकाले खुसीको परिभाषा फरक–फरक हुन सक्छ । कहिलेकाहीँ मात्र खुसी हुनु र जीवनलाई सधैभरि खुसी राख्न सक्नु अलग कुरा हुन् । कहिलेकाहीँ मात्र खुसी हुनु भनेको अवसरको कुरा हो भने सधैभरि खुसी रहन सक्नु जीवन जिउने कला हो ।

रोग, ईर्ष्या, घमण्ड, शंका, स्वार्थीभावना र लालचीपन खुसीका शत्रु हुन् । जीवनभर खुसीपूर्वक बाँच्न चाहने हो भने यी कुराहरूबाट मुक्त हुन सक्नुपर्छ । खुसी न खोजेर पाइन्छ न किनेर । बरु जति धेरै निःस्वार्थ, सहयोगी र सकारात्मक व्यवहारले अरूलाई खुसी पार्न सकिन्छ जीवनमा त्यति नै खुसी मिल्दै जान्छ । अर्को कुरा भौतिक खुसी क्षणिक हुन्छ भने आत्मिक खुसी दीर्घकालीन ।

जुन खुसी, सद्व्यवहार र सत्कर्मबाट मात्र प्राप्त हुन्छ । स्वस्थ, सुन्दर र सुखी जीवनका लागि खुसी हुनु शारीरिक, मानसिक एवं भावनात्मक रूपले पनि आवश्यक छ । कतिसम्म भने खुसीबिनाको भौतिक सुविधा पनि नुनबिनाको तरकारीजस्तै खल्लो हुन्छ ।

धैर्य, समझदारी र अरूबाट कुनै अपेक्षा नराखी लगनशील भएर काम गर्दा जीवनमा पछुताउनु पर्दैन अर्थात् दुःखी हुनु पर्दैन । पैसा जिउनका लागि महत्वपूर्ण साधन हो तर खुसीको माध्यम भने होइन । प्रेम नै खुसीको स्रोत हो । जुनसुकै सम्बन्धमा प्रेम रहेन भने त्यो सम्बन्ध निरन्तर रहँदैन । आन्तरिक सन्तुष्टि आवश्यक हुन्छ खुसी हुनका लागि । माया, प्रेम, सम्मान तथा आपसी समझदारीले ‘इटरनल स्याटिस्फ्याक्सन’ दिन्छ । जीवनलाई खुसी राख्ने हो भने रिस, द्वेष, ईर्ष्या तथा आवेगबाट टाढा रहने प्रयास गर्नुपर्छ । मानिसले जीवनमा जे–जति काम गर्छ खुसी हुनकै लागि गर्छ ।

मुख्य कुरा त आफ्ना लागि मात्र नभई अरुलाई पनि आफ्नो सत्कर्मद्वारा रमाउन सक्ने वातावरण बनाउन सकियो भने त्यसले सन्तुष्टि दिन्छ र मानिसलाई खुसी बनाउँछ । मेरो पेसाले अहिलेसम्म हजारौंलाई सुन्दर बनाएर खुसी दिएको छ ।

 

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!