सुखको रहस्य

एक सन्त जहिल्यै प्रसन्न देखिन्थे । उनी कुराकानीका क्रममा सामान्य प्रसंगमा पनि उच्च स्वरमा हाँस्ने गर्थे । केही चोरलाई उनको यो बानी अनौठो लाग्यो । सन्तको हाँसोखुसीले भरिएको जीवन देख्दा चोरहरूलाई लाग्यो, पक्कै पनि यी सन्तसित अपार धन हुनुपर्छ । त्यसैले, उनीहरूले आपसमा सल्लाह गरेर एक दिन सन्तलाई अपहरण गरे । सन्तलाई एउटा अनकन्टार जंगलमा पुर्या‍एपछि एक चोरले भने– ए सन्त, तिमीसित अपार धन भएकाले तिमी जहिल्यै प्रसन्न रहन्छौ र मन खोलेर उच्च स्वरमा हाँसिरहन्छौ भन्ने हामीले सुनेका छौँ । त्यसैले, खुरुक्क आफूसित भएको सबै धनसम्पत्ति हामीलाई देऊ । नत्र तिम्रो ज्यान रहनेछैन ।

चोरहरूको धम्की सुनेपछि सन्त फेरि पनि पहिलेजस्तै आफ्नो चिरपरिचित शैलीमा हाँसे र भने– हो, तिमीहरूले सुनेको सही हो । मसित एउटा सुखदा मणि छ । मैले त्यसलाई तिमीहरूजस्तै चोरहरूको डरले जमिनमा गाडेको छु । त्यो स्थान यहाँबाट केही परको दूरीमा पर्छ । त्यसैले, त्यो मणि पाउने हो भने आज राति चन्द्रमाको छायामा आफ्नो खोपडीको तल खनेर खोज्नू, सायद भेट्नेछौ ।

चोरहरूलाई मणि भेट्ने उपाय बताएपछि सन्त एउटा रूखमुनि पल्टिए । चोरहरू चार दिशामा छरिएर चन्द्रमाको छायामा आफ्नो खोपडीमुनि खन्न थाले । तर, एक स्थानमा नभेटिएपछि यताउता चल्दा अर्को स्थानमा खोपडीको छाया परेपछि उनीहरू उतै खन्न थाले । रातभर खन्दा पनि मणि नभेटिएपछि सबै चोर फर्केर सन्त सुतिरहेको स्थानमा आए र उनलाई पुनः धम्क्याउन थाले ।

चोरहरूको धम्की सुनेर पुनः पहिलेजस्तै हाँस्दै सन्तले भने– मूर्खहरू हो, मेरो भनाइको अर्थ बुझ्ने कोसिस गर । खोपडीतल सुखदा मणि छ भन्नुको अर्थ आफ्नै बुद्धिको सदुपयोगबाट मानिसले सुख पाउन सक्छ भनेको हो । त्यसैले, तिमीहरू यो चोरी कर्म छाडेर बुद्धिको सदुपयोगमा लाग, जीवनभर सुख पाउनेछौ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!