काम अनुसारकाे रेकर्ड : मनछुने कथा

धेरै पहिलेको घटना हो । दुई मित्र एउटा घना जङ्गलको बाटो हुँदै सहरतिर जाँदै थिए । गर्मी निकै थियो । बिचबिचमा रोकिँदै, आराम गर्दै, खोल्सामा भेटिएको पानीले प्यास मेटाउँदै उनीहरू अघि बढिरहे । लामो बाटो पार गर्नुपर्ने हुनाले दुवैले घरबाटै खाजा बनाएर साथमा ल्याएका थिए । भोक बढ्दै गएपछि दुवैले एउटा फराकिलो ढुंगामा बसेर खाजा खाने सहमति गरे ।

उनीहरू कुराकानी गर्दै खाजा खाँदै थिए । कुरैकुरामा कुनै विषयलाई लिएर दुवैबीच विवाद सुरु भयो । विवाद यति बढ्यो कि पहिलो साथीले जुरुक्क उठेर दोस्रो साथीको गालामा एक थप्पड लगायो । थप्पड खाएर पनि दोस्रो साथीले कुनै प्रतिक्रिया जनाएन । उसले केवल एउटा सानो छेस्को टिप्यो र माटामा लेख्यो– आज मेरो सबैभन्दा मिल्ने साथीले मलाई एक थप्पड हिर्कायो । यसैबीच दुवैले चुपचाप खाजा खाइसके । केही बेरपछि दुवैले सँगसँगै यात्रा सुरु गरे । तर, दुवैबीच आपसमा बोलचाल भने भएन । अघि बढ्दै जाँदा केही अघि थप्पड खाने साथी चिच्याएको आवाज आयो ।

भूलवश ऊ दलदलमा फसेको थियो । साथी त्यसरी दलदलमा फसेको देखेपछि पहिले थप्पड हिर्काउने साथीले अनेक प्रयत्न गरेर उसलाई दलदलबाट बाहिर निकाल्यो । दलदलबाट बाहिर निस्किसकेपछि दलदलमा फस्ने साथीले एउटा अलि कडा खालको ढुंगो टिप्यो र अर्को ढुंगामा घोटीघोटी लेख्यो– आज मेरो सबैभन्दा मिल्ने साथीले मेरो ज्यान बचायो ।

यो सब देखेपछि थप्पड हिर्काउने साथीले उसलाई सोध्यो– मैले थप्पड हिर्काएपछि तिमीले माटामा लेख्यौ, अहिले ढुंगामा लेखिरहेका छौ ? यसको कारण के हो ? अर्को साथीले ऊतिर हेर्दै जवाफ दियो– नराम्रो काम हावाको झोकासँगै मेटिएर जाओस् भनेर मैले माटामा लेखेको थिएँ भने राम्रो कामचाहिँ कहिल्यै नमेटियोस् भनेर यसरी ढुंगामा लेखेको हुँ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!