सोलुखुम्बु, चैत ९ गते । सोलुखुम्बुको ७ वटा विद्यालयले विद्युतीय हाजिरी शुरु भएपछि प्रशासिनक व्यवस्थापनमा सुधार आएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको उपस्थितिको रेकर्ड तथा उपस्थितिलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी शुरु गरिएको थियो ।
समय अनुकुल प्रबिधिलाई प्रयोग गर्दै विद्यालयमा विद्युतीय हाजिरी शुरु गरिएको सिंहकाली माध्यमिक विद्यालय तिङलाका प्रधानाध्यापक कुमार खड्काले बताउनुयभो । विद्युतीय हाजिरीले विद्यालय शिक्षक र कर्मचारीलाई थप जिम्मेवार समेत बनाएको छेस्काम माध्यमिक विद्यालय छेस्कामका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो ।
सिंहकाली माध्यमिक विद्यालय र छेस्काम माध्यमिक विद्यालयसँगै केदार माध्यमिक विद्यालय नेचा, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङले पनि विद्युतीय हाजिर शुरु गरेको छ । चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, गार्मा माध्यमिक विद्यालय गार्मा र जन जागृति माध्यमिक विद्यालय सल्लेरीमा पनि विद्युतीय हाजिरी जडान गरिएको छ ।
शैक्षिक गुणस्तरका लागि सोलुखुम्बुमा लामो समयदेखि काम गरिरहेको गैह्र सरकारी संस्था ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले माध्यमिक शिक्षा सुधार परियोजना अन्तरगत विद्युतीय हाजिरी लगायतका अन्य कार्यमा सहयोग गरेको रीड नेपालले जनाएको छ ।