
बैसाख १० गते । सोलुखुम्बुका कृषकहरुमा अल्लोप्रतिको आकर्षण बढेको छ । अल्लोले बजार पाउन थालपछि कोदो मकै फल्ने जग्गामा समेत अहिले अल्लोको खेति थालिएको छेस्कामका बिमल कुमारी कुलुङले बताउनु भयो । अहिले बजारमा अल्लोको कपडा प्रतिमिटर ७५० रुपैयामा विक्री भईरहेको छ ।
अल्लोको कपडाले बजार पाउनुका साथै माग बढ्न थालेपछि अहिले गाउँमा अल्लो समुह नै गठन गरिएको छ । पहिलो बाँझो रहेको स्थानमा अहिले अल्लोको बिरुवा उत्पादन भईरहेको छ । साथै भएको बिरुवा संरक्षणका लागि अल्लो समुहको सकृयता रहेको चन्द्रकला कुलुङले बताउनुभयो । ‘अल्लो संरक्षण गर्न अहिले एउटा अल्लोको मुना टिप्नेलाई ५० रुपैयासम्म जरिवाना गर्न थालिएको छ । अल्लाको मुना खानका लागि टिप्ने चलन रहेकोले यस्तो व्यवस्था गरिएको हो ।’ अल्लाको मुना पालाउन थालेको हुदा अल्लो खेति क्षेत्रमा अनुगमन तथा संरक्षण पनि गर्न थालिएको छ । लुकीछिपी मुना टिपेको पाईएमा नगद कारवाही गरिने पेलेम्ला अल्लो समुह छेस्कामले जनाएको छ ।
पहिला बजार नपाएसम्म युवाहरु अल्लोको कामलाई घृणा गर्थे भने पाकाहरुले वस्त्रको रुपका केहिले लगाउने गरेको थियो तर अहिले युवा पुस्ताले पनि अल्लो खेति गरेर फाईदा लिईरहेको छेस्कामकी रत्नमनी कुलुङले बताउनु भयो । अल्लो खेति व्यवशायीक रुपमा गर्न थालेपछि धेरैको घरको आयस्रोत पनि बढेको महाकुलुङ ३ खार्दाेकी नौलीमाया कुलुङ बताउनु हुन्छ । उहाका अनुसार वर्षिक डेढ लाख जतिको कपडा बाह्य जिल्ला निर्यात हुने गरेको छ भने गाउतिर घुम्न आउनेको पहिलो घर लैजाने कोशीलीमा पनि अल्लो पर्ने गरेको छ । अल्लोबाट बनेका डायरी, कोट, पर्स, झोला, टोपी आदी चर्चित छ भने चप्पल, टेवल कपडा, जुत्ता, लगायत सबै प्रकारका डिजाइनहरुको माग बढ्न थालेको हिमालयण हस्तकला केन्द्र तथा अल्लोका कपडा विक्री केन्द्रका प्रोपाईटर परमध्वज राईले बताउनु भयो ।
घाँस, दाउरा तथा गाईबस्तु चराउन जाँदा समेत अल्लो अर्थात एक किसिमको सिस्नु बाट धागो निकाल्दै गरेको देखिन्छ । यसले समयको सदुपयोग समेत भएको साम्तेल्वा देहोम अल्लो समुह छेस्कामका अध्यक्ष लक्ष्मी माया कुलुङको भनाई छ ।
आधुनिक फेशनले पुराना कपडाहरु बिस्थापित गरेको भएपनि अल्लोको कपडाको बजार भने बढेकोछ । यसलाई व्यवस्थित गर्न सके छेस्काम, गुदेल लगायतका गाविसहरुमा राम्रो आम्दानी गर्न सक्ने त्यहाँका बासिन्दाहरु बताउँछन् ।