
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अर्को साता सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रधानमन्त्री कप जेठ १३ गते राजधानीमा सुरु हुँदैछ । व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले बताउनु भयो ।
पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका बारेमा धेरै पछि मात्र थाहा पाए,‘त्यसले यसपटक म खेल्दिन ।’ यदि स्वदेशमै रहेको अवस्थामा भने प्रदेश ३ बाट खेल्ने बढी सम्भावना रहेको पनि बताउनु भयो ।
‘एपीएफसँगको सम्झौता झन्डै डेढ बर्षअघि नै सकिएको थियो,’ गत साता पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट खेलाडी पुरुष घोषित भएका उहाले भन्नुभयो, ‘यस्तो अवस्थामा आफु रहेकै प्रदेशको टोलीबाट खेल्थे होला ।’ अघिल्लो संस्करणको प्रधानमन्त्री कपमा चोटका कारण पारस मैदान बाहिर रहेका थिए । त्यसबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा एपीएफले जुनियर टोली उतारेको थियो । शक्ति गौचन, वसन्त रेग्मी लगायतका खेलाडीले पनि एपीएफबाट खेलेका थिएनन् ।
पारसले ५० ओभरको खेल हुनुलाई क्रिकेट विकासका लागि राम्रो कदम भएको बताउनु भयो । ‘टि ट्वान्टीका खेल भइरहेका छन् । एक दिवसिय हुनु क्रिकेट विकासका लागि राम्रो प्रयास हो । नेपालले वान डे अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त गरेसँगै घरेलु क्रिकेटमा पनि यस्ता प्रतियोगिता हुनुपर्नेमा उहाले जोड दिनु भयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा प्रधानमन्त्री कप जेठ १३ गते कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्रिभुवन आर्मी क्लब, एपिएफसहित समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् भने नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ ।
प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।