
काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबराजमा वृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । मे २९ का दिन मनाइने सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते मंगलबार पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि व्यवस्थापन गर्न लागेको हो । पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाद्वारा जारी गरेको प्रेस विज्ञप्ती अनुसार पार्टि एभरेष्टको प्रस्तुतीमा ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गर्न लागिएको हो ।
‘सगरमाथाको फेदी अनुप छ ठाउ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ’ भन्ने नारा राखेर आयोजना हुन लागेको उक्त सांगीतिक कार्यक्रममा गायकहरु अभिनाश घिसिङ, ईन्डियन आइडलको उपाधि विजेता प्रशान्त तामाङ, लोक गायक बद्री पंगेनी, गायिका प्रिया भण्डारीको साथमा डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे तेन्जिङको आकर्षक प्रस्तुती रहने छ । जेनी शेर्पा उक्त समारोहमा उद्घोषिकाको रुपमा सहभागि हुने छिन् ।
नाम्चे युवा समुहले यही जेठ १५ गते मंगलबार आयोजना गर्ने कार्यक्रममा साँझ ६ बजेपछि प्रारम्भ हुने छ । ‘पार्टि एट टप अफ द वल्र्ड’ उपशीर्षक राखिएको उक्त कन्सर्टसहितको कार्यक्रमको अघिल्लो चरणमा लोकप्रिय गायक–गायिकाहरुले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने छन् भने दोस्रो चरणमा डिजे तेन्जिङले बजाउने लोकप्रिय संगीतको तालमा सहभागि दर्शकहरु डान्स फ्लोरमा रमाउने छन् । कन्सर्ट तथा डान्स पार्टिमा स्वदेशी दर्शकमात्र होइन, विश्वका विभिन्न देशबाट सगरमाथा दिवस मनाउन तथा पदयात्रा र आरोहणका लागि भेला भएका विदेशीहरु पनि रमाउने छन् ।
1 Comment