
काठमाडौँ– भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टिबिएम प्रयोग गर्न लागिएको जानकारी दिए । उनले भने, “आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ, टिबिएम प्रयोगमा गर्ने गरी आयोजनाको डिजाइन गर्न परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेका छौँ ।”
खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट स्थानीय धितुङमा रहने विद्युत्गृहमा पानी खसाली विद्युत् उत्पादनका लागि सुरुङ सुरुङ निर्माण गर्नुपर्ने अध्ययनबाट देखिएको छ । खोटाङ र ओखलढुंगाको सिमाना भएर बग्ने दूधकोशी नदीमा ८०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्न लागिएको छ ।
लामो समयदेखि आयोजनाको क्षमता निक्र्योल हुन सकेको थिए । कार्यकारी निर्देशक घिसिङले सुरुङ बनाएर ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर २०० मेगावाट गरी कूल ८०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको छ । गत शनिबार आयोजनाको स्थलगत निरीक्षण गर्न रबुवाघाट पुगेका कार्यकारी घिसिङले आयोजना निर्माणमा स्थानीयवासीको समेत शेयर लगानी रहने गरी कम्पनी खोलिसकिएको जानकारी दिएका थिए ।
स्थानीयवासीसँगको अन्तरक्रियामा उनले भने, “आयोजना निर्माणमा एशियाली विकास बैंकको लगानीको प्रतिबद्धता छ, छिटोभन्दा छिटो ठेक्का गरेर ठेकेदार छनोट गरी आयोजना अगाडि बढाउन चाहन्छौँ ।”
उनले स्थानीयवासीको लगानीमा आयोजना निर्माणका लागि प्रतिफल दर आकर्षक छ या छैन टुङ्गो विस्तृत अध्ययन सकिएपछि मात्रै टुङ्गो लाग्ने प्रष्ट पारे । परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्ट एसपिए ‘इन एशोसिएसन विथ न्यूजेक’ जापानले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।