
आज देखि तीन सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘हरि’ सँगै अमेरिका बोईज र बेबी आई लभ यु प्रदर्शनमा आएका हुन् । यी तीन सिनेमा मध्ये कुन सिनेमाले राम्रो कारोबार गर्ला भनेर अहिले नै अड्कल लगाउन मुश्किल छ ।
सिनेमाको प्रचार प्रसारमा निर्माण पक्षले त्यति धेरै ध्यान नदिएको सिनेमा ‘हरि’बाट अभिनेता विपिन कार्की आशावादी छन् । उनी सिने करिअरमै राम्रो र आफू सन्तुष्ट भएको सिनेमा नै ‘हरि’ भएको बताउँछन् ।
यस सिनेमामा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको मुख्य भूमिका रहेको छ । शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका कार्यकारी निर्माता योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा हुन् ।
सिनेमामा लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङको छ भने चिन्तन राजभण्डारीको छायाङ्कनलाई अर्जुन कार्कीले सम्पादन गरेका छन् ।
उता प्रवेश पौडेल निर्देशित सिनेमा अमेरिका बोईज पनि आज देखि प्रदर्शनमा आएको छ । यस सिनेमामा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।
पूर्ण रुपमा कमेडी जनरामा निर्माण भएको यो सिनेमाको कारोबारलाई लिएर निर्माण पक्ष आशावादी देखिएको छ ।
यस्तै जनक पाण्डेको निर्देशन रहेको सिनेमा ‘बेबी आइ लभ यू’ पनि आजै देखि प्रदर्शनमा आएको छ ।
प्रेम कथामा आधारित ‘बेबी आइ लभ यु’ लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । सिनेमामा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।
सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको यस सिनेमामा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतका कलाकारको अभिनय छ ।