
जेठ २४ । सोलुखुम्बुका विर्गधन राई मंगलबार बिहानै कपनबाट बागबजार आए। उनको झोलामा पैसा थियो। झोलामा पैसा भएकै कारण सार्वजनिक बस चढ्नु असुरक्षित ठानेर ट्याक्सी खोजे। राईले कपनदेखि बागबजारसम्मको २०० रुपैयाँ भाडा तिरेर एउटा ट्याक्सी चढे। तर राई बागबजार झर्दा ट्याक्सीबाट पैसाको झोला बोक्न छुटाएर रित्तै रत्नपार्क पुगे। रित्तै पार्क पुगेपछि चाल पाए- आफ्नो पैसाको झोला ट्याक्सीमै छुटेछ। उनी ट्याक्सी रोकेकै ठाउँ फर्केर गए, कतै आफू चढेको ट्याक्सी त्यही ठाउँमा पो छ कि भनेर।
तर त्यतिबेलासम्म ट्याक्सी फिर्ता भएर फेरि चाबहिल पुगिसकेको थियो। राईले ट्याक्सीको नम्बर पनि पत्ता पाएका थिएनन्। उनी आफ्नो पैसाको झोला ट्याक्सीमै छुटेको रिपोर्ट दिन ट्राफिक प्रहरी महाशाखा पुगे। ट्राफिक महाशाखाले सिसी क्यामेराको सहयोगमा उनको छुटेको पैसा दुई घण्टामै पत्ता लगाएर राईलाई हस्तान्तण गरेको छ।
ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तका अनुसार राईले दिएको उजुरीका आधारमा सिसिटिभी फुटेज चेकजाँच गर्दा बा१ज ५२७५ नम्बरको ट्याक्सीमा चढेको देखिएको हो। चालक ओखलढुंगा बरुणेश्वर- ४ बस्ने ओमप्रसाद डोटेललार्इ महाशाखामा बोलाई सोधपुछ गर्दा डोटेलले पैसा बुझाएको पन्तले जानकारी दिए। ‘अब ट्याक्सी चालकले ट्याक्सीभित्र यात्रु बस्ने ठाउँमा देखिने गरी नम्बर प्लेट राख्न अनिवार्य गरेका छौँ, अब यस्तो समस्याको अन्त्य हुँदै जानेछ’, पन्तले भने।