
सोलुखुम्बु, जेठ २८ गते । सोलुखुम्बुको पर्यटकिय बजार नाम्चेभन्दा माथि याक छैन भने कुनैपनि होटलमा आगो बल्दैन । हिमाली जिल्ला तथा निकै लेक भएको हुदा खाद्यान्न र ईन्धन ढुवानी गर्न याकको विकल्प नरहेको व्यावशायीहरु बताउछन् ।
होटल व्यवशायी आङफुर्वा शेर्पाका अनुसार नाम्चेदेखि माथि लेकको बाटो भएकोले जोप्के, गधा, खच्चड आदी जादैन । त्यस क्षेत्रमा यातायातको एक मात्र विकल्प साधन याक रहेको बताउनुभयो । सगरमाथा क्षेत्रमा याक खाद्यान्न तथा ईन्धन ढुवानी गर्ने साधन मात्र नभई पर्यटकको भरपर्दाे भरिया पनि भएको पर्यटन व्यवशायी लाक्पा शेर्पाले बताउनुभयो ।‘पर्यटकको भरिया युवाहरुसँगै याक पनि भरपर्दाे माध्यम रहेको हुदा याक सगरमाथा आधारशिविर, गोरक्सेप, गोक्यो लागयतका हिमाली क्षेत्रको दर्जनौ पर्यटकिय बस्तीमा पुग्ने गरेका छन् ।’
पर्यटकिय क्षेत्र खुम्बुमा सिजनको बेला मान्छेले बोकेको सामानको भर पर्ने हो भने अधिकाँश होटल नखुल्ने भएकोले याक कै भर पर्नु परेको छ । याक नभए धेरैजसो होटल बन्द हुने भएकोले याक पालनमा ध्यन दिनुपर्ने व्यावशायीहरु बताउछन् । याकले पर्यटकका लागि चामल, नुनतेल देखि ईन्धनका लागि आवश्यक मट्टितेल समेत ढुवानी गर्ने गरेको छ । सगरमाथा क्षेत्रमा यातायातको भरपर्दाे साधन याक रहेको तथा नेपालको एक मात्र याक विकास फर्म पनि सोलुखुम्बु मै भएकोले याक विकास फर्ममा याकको उत्पादन बृद्धि गर्न सरकारले ध्यान दिए खुम्बुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने पर्यटन व्यवशायीहरु बताउछन् ।
सगरमाथा क्षेत्रको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा करिव १ सय ५० भन्दा बढि होटलहरु रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्क रहेको छ । त्यस क्षेत्रमा रहेको अधिकाँश होटलमा याकले ढुवानी गरेको खाद्यान्न मै भर पर्ने गरेको होटल व्यवशायी पृथ राईले बताउनु भयो । दैनिक लाखौको कारोबार हुने होटलहरु सञ्चालनको लागि भरियाबाट सम्भाव नहुने भएकोले सगरमाथा क्षेत्रको पर्यटन धरापमा पर्न नदिनको लागि पनि यात्र पाल अनिवार्य रहेको व्यवशायीहरु बताउछन् ।