
सोलुखुम्बु, असार ४ गते । गाउँमा पिसानी मिल सञ्चालन भएपछि सोलुखुम्बुको महाकुलुङका गृहिणीहरुको आम्दानी बृद्धि भएको छ । पिठो पिस्दा लाग्ने समय करेसामा सदुपयोग गरेका हुदा आम्म्दानी बढेको कृषकहरु बताउछन् ।
गाउँमा मिल आएपछि दैनिक रुपमा दुई÷चार घण्टा जाँतो घुमाउनुपर्ने बाध्यता हटेकोले आम्दानी बढेको महाकुलुङ–५ की सविता कुलुङले बताउनु भयो ।‘पहिले दैनिकजसो जाँतोमा पिठो पिस्नु पथ्र्यौ । जाँतो नघुमाएको दिनै हुदैनथ्यो । तर अहिले मिल आएपछि पिठो पिस्ने समय करेसामा तरकारी खेति गरिरहेको छु ।’ कुलुङका अनुसार पिठो पिस्दा घरमा विहान बेलाका खाने अन्न मात्र पिसिन्थ्यो भने अहिले मिलले पिठो पिस्ने गरेपछि कृषकहरुले समयको सदुपयोगका लागि करेसाबारी तरकारी उब्जाउने गरेको हो । करेसामा समय दिन थालेपछि मनग्य आम्दानी भएको छ भने घरमा ताजा तरकारी पनि नटुटेको बताउनु भयो ।
पहिले गाउँमा मिल नुहदा पिठो पिस्न कै लागि पर्मको चलन थियो । तर अहिले पर्म पनि हराएको स्थानीय कौशिला कुलुङले बताउनु भयो । कुलुङका अनुसार अहिले पिठो पिस्ने समयमा तरकारी खेति तथा अन्य काममा सदुपयोग हुन थालेको छ । गत वर्षदेखि व्यवशायीक तरकारी खेति गर्न थाल्नुभएका कुलुङले वार्षिक ५० हजारको तरकारी बेच्ने गरेको बताउनु भयो ।
पछिल्लो समय गृहिनीहरुलाई मिल सञ्चालनले सहजता दिलाएको छ भने सबै गृहिणी मिलेर कृषि समुह मार्फत एक घर एक तुरकारी खेति अनिवार्य गरेपछि महाकुलुङ ५ का कृषकहरुको आम्दानी पनि वर्षेणी बढ्दै गईरहेको स्थानीय समाजिक संस्था नव ज्योति युवा मञ्चले जनाएको छ । स्थानीय कृषि समुहहरुलाई विभिन्न तालिम, विउ औजार निःशुल्क उपलब्ध गराउदै आएको मञ्चे यस वर्ष पनि अलैचीको विरुवा, खुर्सानीको विरुवा वितराण गरेको छ भने तरकारी व्यवस्थापन र नमुना करेसाबारी व्यवस्थापन तालिम पनि दिएको नवज्योति युवा मञ्चका सचिव हरि कुमार कुलुङले बताउनु भयो ।
फोटोः करेसा व्यवस्थापन तथा तरकारी विक्रीमा व्यस्त महाकुलुङ ५ का कृषक ।