जागिर छाडेको दुई वर्षसम्म कर्मचारीले कतै काम गर्न नपाउने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जागिर छाडेको दुई वर्षसम्म सरकारी कर्मचारीहरूले कतै काम गर्न नपाउने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निजामती कर्मचारीले जागिर छाडेर एनजिओ, आइएनजिओमा जाने क्रम देखिएपछि सरकारले दुई वर्षसम्म कतै जागिर खान नपाउने गरी निजामती ऐन ल्याउन लागेको जानकारी दिएका हुन् । बीचमा जागिर छाड्नेसँगै अनिवार्य अवकाश पाएका कर्मचारी पनि जागिर छाडेको केही दिनमै एनजिओ, आइएनजिओमा गएर जागिर खाँदा सरकारका धेरै सूचनाको दुरुपयोग हुने गरेको पाइएकाले यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ थियो । जागिर छाडेपछि उनीहरूलाई देशमै काम गर्ने वातावरण मिलाउने गरी सरकारले काम अघि बढाएको जानकारी दिँदै पूर्वविशिष्ट कर्मचारीको कार्यकारी परिषद् बनाएको बताए ।

निजामती कर्मचारीबाटै सरकारी सूचना चुहिने
विशिष्ट श्रेणीबाट राजीनामा दिएका र अवकाश पाएकाले जागिर छाडेसँगै विभिन्न एनजिओ, आइएनजिओका कार्यालयमा साइनबोर्ड झुन्ड्याउने र सरकारी सूचना र तथ्यांक त्यही कार्यालयमा तत्काल अपडेट गर्ने गरेको मन्त्री पण्डितको भनाइ थियो । एनजिओ, आइएनजिओले सरकारका तिनै सूचना र तथ्यांकका आधारमा काम गर्ने गरेकाले सरकारी सूचनाको चुहावट रोक्न यस्तो नियम आवश्यक रहेको उनको भनाइ थियो ।

छिट्टै संघीय निजामती ऐन
मन्त्री पण्डितले संघीय निजामती ऐन छिट्टै आउने र त्यसपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गर्न सकिने जानकारी दिँदै नगरपालिका र महानगरपालिकाका कर्मचारी सरुवा नहुने परम्पराले काम गर्न अप्ठ्यारो भएको बताए । राष्ट्रसेवक कर्मचारीलाई उत्साहित भएर काम गर्न आग्रह गर्दै उनले सरकारले २४ घन्टामा जुनसुकै वेला जहाँ पनि खटाउन सक्ने भएकाले काठमाडौंमा मात्रै बसेर जागिर खान्छु भन्नु गलत रहेको धारणा राखे ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!