काठमाडौं । नेपालको प्रधामन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली ११९ जनाको जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली मंगलबार चीन पुगेका हुन् ।
यो भ्रमणमा चीनमा एकै पटक तीन मुलुकका कम्युनिष्ट राष्ट्र प्रमुखहरुको जमघट भएको छ । उत्तर कोरियाका नेता किम जोङ उन, वोलिभियाका राष्ट्रपति इभो मार्लोस र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ।
सोमबार बोलिभियाका राष्ट्रपति तथा वामपन्थी समाजवादी पार्टी ‘मुभमेन्ट फर सोसलिज्म (समाजवादी अभियान)का अध्यक्ष इभो चीनको राजधानी बेइजिङबाट १४० किलोमिटर पूर्व सामुन्द्री किनारको शहर तान्जिन पुगेका थिए ।
त्यसका भोलीपल्ट मंगलबार नेपालका प्रधानमन्त्री ओली र उत्तर कोरियाको वर्कस पार्टीका अध्यक्ष तथा राज्य परिषदका अध्यक्ष किम जोङ उन मंगलबार चीन पुगेका थिए ।
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताएका छन् ।
मंगलबार बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङसँग भेटवार्ता गरेका थिए । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सम्पन्न दुई नेताबीचको भेटवार्ता भएको थियो । मन्त्री ज्ञवालीलेका अनुसार दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भएको छ ।
त्यस्तै तेस्रो चीन भ्रमणका क्रममा बेइजिङ पुगेका उत्तर कोरियाली नेता किमले बुधबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच भएको भेटवार्तामा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको वर्कस पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सहमति भएको छ ।
सिङ्गापुरमा सम्पन्न ट्रम्प–किम शिखर सम्मेलनको एक सातापछि उनी बेइजिङ पुगेका हुन् । सन् २०११ मा उत्तर कोरियाको सत्तामा पुगेपछि किम पहिलो पटक विदेश भ्रमणका क्रममा मार्चमा बेइजिङ पुगेका थिए । त्यसयता उनी मे महिनामा पनि चीन पुगेका थिए ।
यसैबीच चौथो पटक बेइजिङ पुगेका बोलिभियाली राष्ट्रपति इभो र चिनियाँ राष्ट्रपतिबीचको भेटवार्ताका क्रममा दुई देशबीच आपसी राजनीतिक विश्वासका आधारमा चीन र बोलिभियाबीचको असल साझेदारी हुनुपर्ने चिनियाँ राष्ट्रपतिले बताएको चाइना डेलीले जनाएको छ ।