
काठमाडौं। छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर पछिल्लो पटक वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। गोरखा फुजेलकी ६२ वर्षीया अधिकारी गणतन्त्र दिवसका दिन (जेठ १५) देखि आमरण अनशन बसेकी हुन्। लामो समयदेखि वीर अस्पतालमा उपचाररत उनले आफू र आफ्नो परिवारलाई अन्याय परेको भन्दै आमरण अनशन थालेकी हुन्। छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर अनशन बसेकै बेला अधिकारीका पति नन्दप्रसादको पनि वीर अस्पतालमै साढे तीन वर्षअघि मृत्यु भएको थियो। उनको अन्त्येष्टि अहिलेसम्म भएको छैन। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
आफूलाई न्याय नदिने हो फासी दिन माग गर्दै अधिकारीले चिकित्सकलाई थप उपचार गर्नसमेत दिएकी छैनन्। ‘धेरै दिनदेखि उहाँको शरीरले सलाइन लिएको छैन, स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गएको छ, शरीरका सबै अंग शिथिल भएका छन्’, मानवअधिकारकर्मी चरण प्रसाईंले भने। याे खबर अाजकाे नागरिकमा छ ।