
काठमाडाैं – सर्बिया फुटबल संघले रेफ्रिको निर्णय विरुद्ध फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दर्ता गराएको छ।
गत शुक्रबार स्विजरल्याण्डसँग भएको खेलमा रेफ्रि फेलिक्सको निर्णयले आफुमाथि अन्याय गरेको भन्दै संघले उजुरी दर्ता गराएको हो। उक्त खेलमा सर्बिया स्विजरल्याण्डद्वारा दुई एक गोल अन्तरले पराजित भएको थियो।
उजुरी दर्ता गराएको बारे जानकारी गराउँदै सर्बियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हामिले आफुमाथि अन्याय गरिएका सातवटा रेफ्रिका निर्णयबारेको भिडियो सहित उजुरी गरेका छौ जसमा प्रष्ट भएको छ की खेलका दौरान फेलिक्सका निर्णयहरु कसरी हाम्रो टोली विरुद्ध केन्द्रित रहेका छन्।’
एउटै अवस्थामा आफ्ना खेलाडीहरुलाई पहेँलो कार्ड दिएको तर विपक्षि टोलीका खेलाडीलाई भने चेतावनी मात्रै दिएर छोडिएको आरोप सर्बिया फुटबल संघले लगाएको छ। स्विजरल्याण्डसँगको खेलमा सर्बियाका मिट्रोभिक,सेरगेज र म्याटिकले पहेँलो कार्ड पाएका थिए।
सर्बियाले सबै भन्दा ठुलो प्रश्न आफुलाई दोश्रो हाफमा पेनाल्टी नदिइएकोमा उठाएको छ। दोश्रो हाफमा सर्बियाका एलेक्जेण्डर मेट्रोभिकमाथी डि बक्स एरियाभित्र खराब फल गरिएपनि पेनाल्टी नदिनु निकै दुःखद निर्णय भएको सर्बिया फुटबल संघले बताएको छ। संघले संसारलाइनै मेट्रोभिकमाथी गरिएको फल पेनाल्टी हुनुपर्ने थाहा भएको बताउँदै पेनाल्टीकालागि खेलाडीहरुले अपिल गर्दा पनि भिएआर (भिडियो एसिस्टेन्ट रेफ्रि) को सहायता रेफ्रिले नलिनु आफुहरुका लागि गरिएको अन्याय भएको बताएको छ।