सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ।

उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो। यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा खजुमलाई शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको छ। मन्त्री आङ्बोका अनुसार सीताकी आमासहित उनको परिवारका सदस्यसँगको सहमतिमा सीताको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो।

सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन्। गत जेठ ६ गते राति मावलीमा बसेकी सीता सामूहिक हत्याको घटनामा भागेर बाँच्न सफल भएकी थिइन्। हातमा चोट लागेकी उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको थियो।

सामूहिक हत्याको घटनामा सीताका मावलीतर्फका हजुरबुबा बमबहादुर फियाकसहित हजुरआमा, कान्छी सानीआमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो। सीता विगतबाटै मावलीमा बसेर अध्ययन गर्दै आएकी थिइन्। सीताका बाबुले कान्छी आमा ल्याएपछि उनकी आमालेसमेत दोस्रो विवाह गरेकीले उनी वृद्ध हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन्। उक्त घटनामा उनकी माइली ठूलीआमा जस्मिता फियाक (शेर्मा) सहित शेर्माको परिवारका पाँच जनाकोसमेत हत्या भएको थियो।

-रासस

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!